
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित रहेको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाएको हो ।
सेवाबाट हटाइएकामध्ये छ जना लामो समयसम्म कार्यालयमा हाजिर नभएको कसुरमा कारबाहीमा परेका छन् । यसरी सेवाबाट हटाइएकामा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेशप्रसाद पौडेल रहेका छन् ।
त्यस्तै, स्वीकृतिबिना बिदामा बसेको कसुरमा पदमेन्द्रप्रसाद श्रेष्ठलाई पनि सरकारी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) तथा सोही ऐनको दफा ५९ को खण्ड (ख) (१०) बमोजिम उनीहरूमाथि कारबाही गरिएको हो ।
यद्यपि, सातै जनालाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा उल्लेख छ । मन्त्रालयले उक्त निर्णयबारे जानकारी गराउँदै सार्वजनिक सूचना जारी गरेको हो ।
