नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा रोजगार संयोजकविरुद्ध मुद्दा दायर

दियोपोस्ट संवाददाता

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्त भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संयोजक पदमा कार्यरत कर्मचारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पदमा कार्यरत ओमप्रकाश गिरीविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार गिरीले २०७८ जेठ १ गतेदेखि राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्ति पाउन तीन वर्षे बीएड तहको लब्धाङ्कपत्र पेस गरेका थिए ।

उक्त शैक्षिक प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा गिरीको नभई अन्य व्यक्तिको भएको खुलेको आयोगले जनाएको छ ।

आफ्नो शैक्षिक योग्यता ढाँटी झुटा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद तथा ओहदा प्राप्त गरेको भन्दै आयोगले गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।

सम्बन्धित खबर

सिफारिस