
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको भीषण माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १४ जनाका आफन्तले क्षतिपूर्तिसहितका माग अघि सार्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
मृतकका परिवारले प्रत्येक मृतकका आश्रित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडानमा आफन्तहरू छन् । उनीहरू हेटौँडा अस्पताल परिसरमै बसेका छन् । प्रशासनले भने प्रचलित कानुनअनुसार पाउने क्षतिपूर्ति उपलब्ध गराउन सकिने तर कानुनले तोकेको भन्दा बढी रकम उपलब्ध गराउने विषयमा निर्णय गर्ने अधिकार आफूहरूसँग नभएको जनाएको छ ।
प्रजिअ अधिकारीले कानुनअनुसारको प्रक्रिया अघि बढाउने र आवश्यक परे पोस्टमार्टम तथा शव व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने बताएका छन् । मृतकका आफन्तले भने सरकारले थप राहतको व्यवस्था गर्नुपर्ने अडान राखेका छन् ।
गत बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस दुर्घटनामा परेको थियो । दुर्घटनामा चालकसहित १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।
गाडीमा चालकसहित २० जना सवार रहेको प्रहरीको विवरण छ । दुर्घटनामा एकै परिवारका छ जनासहित ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ । मृतक तथा घाइतेमध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरटोलका स्थानीय रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार मृतकमध्ये चार महिला, तीन बालिका र सात पुरुष रहेका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये चालकसहित ११ जनाको पहिचान खुलेको विवरण बिहीबार सार्वजनिक भएको थियो ।
दुर्घटनामा घाइते भएका छ जनालाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याइएको थियो । उनीहरूमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य तीन जनालाई थप उपचारका लागि काठमाडौँ र भरतपुर पठाइएको विवरण सार्वजनिक भएको छ ।
घाइतेमध्ये बालबालिकासमेत रहेका छन् । गम्भीर घाइतेको उपचारका लागि परिवारले आर्थिक कठिनाइ बेहोर्नुपर्ने अवस्था आउन सक्ने भन्दै आफन्तले सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने माग गरेका हुन् ।
दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, बागमती प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन् ।