
काठमाडौँ । पश्चिम नवलपरासीमा आमा र छोरीमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-५ विष्णुपुराका ४८ वर्षीय विनोद गुप्ता, २४ वर्षीय सिद्धेश्वर गुप्ता र २७ वर्षीय अजय गुप्ता रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले गत बुधबार घरायसी विवादका क्रममा सोही ठाउँकी ४६ वर्षीया सावित्री देवी गुप्ता र उनकी २३ वर्षीया छोरी पूजा कुमारी गुप्तामाथि लाठी तथा भाटासमेत प्रयोग गरी कुटपिट गरेका थिए ।
कुटपिट तथा हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिरिएको थियो । घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पीडित तथा जाहेरवाला पूजा कुमारी गुप्ताले अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई बुधबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।