
विराटनगर । मोरङको केराबारी गाउँपालिका-२ फैबास्थित जंगलमा एक महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको छ । मृतक स्थानीय ३१-३२ वर्षीया पार्वती लिम्बू रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको शव घरबाट करिब एक किलोमिटर टाढा जंगलमा फेला परेको हो । बिहीबार साँझ स्थानीयले जंगलभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार लिम्बूको शव अर्धनग्न अवस्थामा भेटिएको थियो । उनको कम्मरमुनिको भागमा कपडा थिएन । यद्यपि, शरीरमा बाहिरबाट देखिने चोटपटक फेला नपरेको र घटनास्थलमा तत्काल कुनै शंकास्पद वस्तु पनि नभेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा मृतकको पारिवारिक अवस्थाबारे पनि जानकारी संकलन गरिरहेको छ । स्थानीयले पार्वती र उनका पतिबीच पटकपटक विवाद तथा झगडा हुने गरेको जानकारी प्रहरीलाई दिएका छन् ।
घटनाको प्रकृति र मृत्युको वास्तविक कारण पत्ता लगाउन फरेन्सिक चिकित्सकसहितको टोली परिचालन गरिएको एसपी कटवालले बताएका छन् ।
शव अर्धनग्न अवस्थामा भेटिनु, शरीरमा बाहिरी चोट नदेखिनु र घटनास्थलमा शंकास्पद वस्तु नभेटिनुले घटनाबारे विभिन्न प्रश्न उठेका छन् । तर, यी तथ्यका आधारमा मात्रै हत्या, आत्महत्या वा अन्य कुनै कारण भन्ने बारे अनुसन्धान गरिने प्रहरीको भनाई छ ।
पार्वतीको मृत्युको वास्तविक कारण भने प्रहरी अनुसन्धान र चिकित्सकीय परीक्षणको प्रतिवेदनपछि मात्रै खुल्नेछ ।