घोप्टेभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

दियोपोस्ट संवाददाता

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको ठूलो सुक्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सोमबार बिहान खसेको पहिरोका कारण अवरुद्ध बनेको सडक निरन्तर प्रयासपछि पुनः सञ्चालनमा ल्याइएको हो ।

सडक विभागका प्रवक्ता सुवराज न्यौपानेका अनुसार पहिरो पन्छाउने काम सम्पन्न भएपछि दुवैतर्फ सवारीसाधन सञ्चालन गरिएको हो ।

पहिरो ठूलो भएकाले सडक खुलाउन पाँचवटा मेसिन तथा उपकरण परिचालन गरिएको सडक विभागले जनाएको छ । यसअघि सोमबार बिहान करिब ५ बजे खसेको पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । राति करिब १ बजे खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि बिहान पुनः ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको थियो ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार पहिरो पन्छाउन मुग्लिङतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडर तथा काठमाडौँतर्फबाट दुईवटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडर परिचालन गरिएको थियो ।

लगातार सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिनाइ भएको थियो । पहिरोका कारण दुवैतर्फ सवारीसाधनको लाम लागेको थियो भने तिहार मनाउन घर तथा गन्तव्यतर्फ जाँदै गरेका यात्रुहरू बाटोमै रोकिएका थिए ।

मुग्लिङबाट करिब तीन किलोमिटर मलेखुतर्फ पर्ने घोप्टेभीर क्षेत्रमा पछिल्ला दिनमा पटकपटक सुक्खा पहिरो खस्दै आएको छ । आइतबार पनि सोही स्थानमा पहिरो खसेर केही समय यातायात अवरुद्ध भएको थियो ।