नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

दियोपोस्ट संवाददाता

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार चालकसहित तीनै जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भैरमकोटबाट कोलनीतर्फ आउँदै गरेको बा ९९ प ८२०२ नम्बरको पल्सर मोटरसाइकल बिहान १०ः५५ बजे अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले दिउँसो १२ः१० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका-५ घर भई हाल विदुर नगरपालिका-९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ रहेका छन् । त्यस्तै, मोटरसाइकलमा सवार विदुर नगरपालिका-१३ निवासी ३१ वर्षीया बिन्दा थापामगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापामगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक प्रहरी विवरणअनुसार मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खसेको हो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबर