
वीरगञ्ज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका-२ मा पटाका पड्काउने क्रममा एक बालकको मृत्यु भएको छ । सोमबार बिहान आफ्नै घरअगाडि पटाका पड्काउने क्रममा गम्भीर घाइते भएका आठ वर्षीय कुन्दन सहनीको वीरगञ्जस्थित तराई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रारम्भिक विवरणअनुसार बालकले फलामको पाइपभित्र पटाका राखेर पड्काउने प्रयास गरेका थिए । पटाका विस्फोट हुँदा पाइपका दुवैतर्फबाट धातुका टुक्रा उछिट्टिएर बालकको छातीमा लागेको र गम्भीर चोट पुगेको बताइएको छ ।
घाइते बालकलाई तत्काल उपचारका लागि तराई अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा बिहान ८ः४५ बजे मृत घोषणा गरेका थिए ।
पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार घटनाबारे प्रहरी अनुसन्धान भइरहेको छ ।
यसैबीच, पर्सा प्रहरीले केही दिनअघि मात्रै अवैध रूपमा भित्र्याइएका करिब सात लाख रुपैयाँ मूल्य बराबरका पटाका तथा विस्फोटक सामग्री नष्ट गरेको थियो । भारतसँग सीमा जोडिएको पर्सामा चाडपर्वको समयमा पटाका तथा विस्फोटक सामग्रीको अवैध ओसारपसार र बिक्री वितरण नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै आएको छ ।