पत्रकारको उजुरीपछि कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरोमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरो जाने भएका छन् । पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई उपस्थित हुन बोलाएको हो ।

शिवाकोटीले आइतबार फेसबुकमार्फत चाडबाडको बिदामा समेत प्रहरीले ताकेता गरेपछि साइबर ब्युरो जान लागेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु । आजको सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु । जय नेपाल ।’

पत्रकार रोशन खड्का र शिवाकोटीबीच सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई लिएर विवाद उत्पन्न भएको थियो । काठमाण्डूपाटी अनलाइनका अध्यक्षसमेत रहेका खड्काले शिवाकोटीले फेसबुकमा आफूलाई लक्षित गरी लेखेको अभिव्यक्तिलाई लिएर साइबर ब्युरोमा उजुरी दिएको बताइएको छ ।

विवादको पृष्ठभूमिमा नेपाली कांग्रेसका सभापति गगन थापा, इनम सापकोटा र उनीहरूसँग जोडिएका समाचार तथा सार्वजनिक अभिव्यक्तिसमेत रहेका छन् । काठमाण्डूपाटीले गगन थापा र इनम सापकोटाबीचको सम्पर्कका विषयमा समाचार प्रकाशित गरेपछि शिवाकोटीले पत्रकार खड्काको टिप्पणी र विश्वसनीयतामाथि प्रश्न उठाएका थिए ।

शिवाकोटीले भने आफूलाई प्रहरी लगाएर डर देखाउन खोजिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनले सरकारले विधि र विधान मिचेर काम गरिरहेको आरोपसमेत लगाएका छन् ।