
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नयाँ जिम्मेवारी दिँदै एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई हटाइएको नभई जिम्मेवारी परिवर्तन गरिएको बताएका छन् । प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा सल्लाह दिन आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको उनको भनाइ छ ।
कार्कीलाई जिम्मेवारीबाट हटाउनुको प्रमुख कारणमध्ये इनाम सापकोटा प्रकरणलाई हेरिएको छ । सापकोटासम्बन्धी अनुसन्धान र प्रधानमन्त्री सचिवालयसँगको असमझदारीले कार्कीको पदमुक्तिमा भूमिका खेलेको सरकारी तथा प्रहरी स्रोतहरूको दाबी छ ।
सापकोटासँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनको सम्पर्क र सापकोटाको मोबाइल फोन दुई दिनसम्म उनीसँग रहेको विषयले पनि विवाद बढाएको थियो । कार्कीले उक्त घटनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएपछि सचिवालयसँगको सम्बन्ध थप तनावपूर्ण बनेको स्रोतहरूको दाबी छ ।
त्यस्तै, केही व्यक्तिलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री सचिवालयबाट आएको निर्देशनमा कार्कीले कानुनी आधार र प्रक्रियाको प्रश्न उठाउने गरेको पनि बताइएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्ने विषयमा प्रहरी नेतृत्व र राजनीतिक तहबीच मतभेद रहेको स्रोतहरूको भनाइ छ ।
पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिइएको र संचार माध्यममा प्रहरीले छापा मारेको घटनाले पनि प्रहरी नेतृत्व र सञ्चार क्षेत्रबीच विवाद बढाएको थियो । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको विषयमा समेत कार्की नेतृत्वमाथि प्रश्न उठेको थियो ।
नवनियुक्त आईजीपी मनोजकुमार केसी प्रहरीको अनुसन्धान क्षेत्रमा अनुभव भएका अधिकारी हुन् । उनले यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान विभाग र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलगायत निकायमा जिम्मेवारी सम्हालेका छन् ।
सरकारले यसलाई प्रशासनिक जिम्मेवारी परिवर्तन भने पनि प्रहरी नेतृत्वमाथि राजनीतिक हस्तक्षेप भएको हो कि भन्ने प्रश्न उठाएको छ ।