
काठमाडौँ । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे प्रशासन फाँटमा कार्यरत निर्मल तिमिल्सिनालाई कार्यालयबाटै पक्राउ गरेको हो ।
आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम गरिदिने भन्दै एक सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए । घुस रकम लिएको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले घटनाको पुष्टि गर्दै पक्राउ परेका तिमिल्सिनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।