रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार रुपैयाँ बरामद, भारतीय नागरिकसहित दुई जना नियन्त्रणमा

Guest
प्रेमचन्द्र झा

रौतहट । प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको ३० लाख रुपैयाँ र गौरस्थित एक व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमाण्डमा खटिएको टोलीले न्यू तराई ट्रेडर्समा खानतलासी गरेको थियो । खानतलासीका क्रममा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ फेला परेपछि प्रहरीले उक्त रकमसहित प्रतिष्ठानका सञ्चालक शेख कमरुललाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।

यसरी प्रहरीले भारतबाट ल्याइएको ३० लाख रुपैयाँ र व्यापारिक प्रतिष्ठानबाट बरामद भएको १४ लाख ६४ हजार ६०५ रुपैयाँ गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नियन्त्रणमा लिएको छ ।

भारतबाट ठूलो परिमाणमा नगद रकम लुकाएर ल्याइएको र गौरस्थित व्यापारिक प्रतिष्ठानमा समेत थप रकम फेला परेको घटनाले सीमावर्ती क्षेत्रमा हुने नगद ओसारपसार तथा त्यसको स्रोतबारे प्रश्न उठाएको छ । बरामद रकमको वास्तविक स्रोत, प्रयोजन, कारोबारको प्रकृति र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।