समाचारप्रति रास्वपा सांसद विश्वराज पोखरेलको खण्डन

दियोपोस्ट संवाददाता

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् । दियोपोस्टमा प्रकाशित ’प्रधानन्यायाधीश शर्मा र रास्वपाका सांसद पोखरेलको नाममा अमेरिकामा घुस ः फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण !’ शीर्षकको समाचारमा आफ्नो नाम जोडेर लगाइएका आरोपहरू पूर्ण रूपमा निराधार, भ्रामक र कपोलकल्पित रहेको उनको दाबी छ । सोही समाचारपछि प्रधानन्यायाधीश शर्मा भने ईजलाशबाट बारिएका छन् । उनले मंगलबारदेखि सर्वोच्च अदालतको कुनै पनि ईजलाशमा आफ्नो उपस्थिति देखाएका छैनन् ।

सांसद पोखरेलले कुनै पनि दलाल वा बिचौलियासँग आफ्नो जीवनमा चिनजान, सम्पर्क वा संलग्नता नरहेको दाबी गरेका छन् । समाचारमा उल्लेख गरिएका इनम सापकोटा नामका व्यक्तिसँग पनि आफ्नो कुनै पनि प्रकारको फोन सम्पर्क वा चिनजान नरहेको उनको भनाइ छ । कुनै पनि प्रमाणित तथ्य र आधिकारिक आधारबिना व्यक्तिको नामलाई आपत्तिजनक आरोपसँग जोडेर सार्वजनिक गर्नु व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र सार्वजनिक जीवनमाथि गम्भीर आघात पुरÞ्याउने दुस्प्रयास भएको भन्दै उनले समाचारको निन्दा गरेका छन् ।
उनको खण्डन यस्तो छ ।