युएनको रोस्ट्रममा बालेनको ‘गगल्स डिप्लोमेसी’: न्युयोर्क टाइम्स र द गार्डियन किन परे फिदा?

राजेन्द्र भट्ट

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कालो चस्मा ‘गगल्स डिप्लोमेसी’लाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ‘नोटिश’ गरेका छन्।

प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ ले सेप्टेम्बर २४ मा ‘नेपालका नेताले संयुक्त राष्ट्रसङ्घ महासभामा पनि किन लगाए कालो चस्मा ?’ शीर्षकमा विशेष रिपोर्ट प्रकाशित गरेको छ। न्युयोर्क टाइम्सका अनुसार र्यापरका रूपमा साङ्गीतिक क्षेत्रमा सक्रिय हुँदादेखि काठमाडौँको मेयर र अहिले देशको प्रधानमन्त्री बन्दासम्म कालो चस्मा बालेनको सार्वजनिक पहिरन र छविको एक महत्त्वपूर्ण हिस्सा बन्दै आएको छ।

न्युयोर्क टाइम्सले आफ्नो समाचारमा लेखे अनुसार नेपालमा बालेनको यो शैली एउटा ब्रान्ड बनेको छ र युवाहरूमाझ उनी जस्तै चस्माको बिक्रीसमेत बढेको छ। प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले चिकित्सकको सल्लाहअनुसार कडा उज्यालो (ब्राइट लाइट) बाट आँखाको सुरक्षाका लागि उनले चस्मा प्रयोग गर्दै आएको स्पष्ट पारेको छ।

यसैगरी, बेलायती दैनिक पत्रिका ‘द गार्डियन’ ले पनि आज प्रकाशित आफ्नो समाचारमा ३६ वर्षीय पूर्व र्यापर तथा इन्जिनियर शाहले परम्परागत ढाका टोपी र स्वास्थ्यका कारण प्रयोग गर्दै आएको कालो चस्मा लगाएर युएन महासभालाई सम्बोधन गरेको प्रसङ्गलाई हाइलाइट गरेको छ।

न्युयोर्क टाइम्सले चस्मालाई नै मुख्य विषय बनाएको भएता पनि बेलायती अखबार ‘द गार्डियन’ ले भने प्रधानमन्त्री बालेनले विश्व नेताहरूलाई गराएको ध्यानाकर्षण र जलवायु परिवर्तनलाई लिएर आक्रोश पोखेको भन्दै उक्त कुरालाई समाचारमा मुख्य स्थान दिएको छ।

नेपालमा हालै आएको विनाशकारी बाढीको प्रसङ्ग उठाउँदै बालेनले युएन महासभामा विश्व नेताहरूलाई सोधेको प्रश्न उद्धृत गर्दै गार्डियनले लेखेको छ, “”यो विपद् विश्वका लागि एउटा चेतावनी थियो। र म आज तपाईँहरूलाई सोध्छु, के तपाईँहरूले त्यो चेतावनी साँच्चै सुन्नुभयो?”

कोइला, तेल र ग्यास बाल्दा भएको जलवायु परिवर्तनका कारण पग्लिएको ‘पर्माफ्रोस्ट’ (जमेको माटो/बर्फ) ले हिमनदी भत्किएर आएको बाढीले नेपालमा कम्तीमा १,४०० जनाको ज्यान लिएको र ६,००० भन्दा बढी मानिस अझै बेपत्ता रहेको तथ्याङ्क द गार्डियनले प्रस्तुत गरेको छ।

गार्डियनका अनुसार हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम (१ प्रतिशतको १० भागको एक भाग) रहेको उल्लेख गर्दै बालेनले भनेका छन्, “हामीले यो संकट सिर्जना गरेका होइनौँ, तर पनि हामी यसको ठूलो मूल्य चुकाइरहेका छौँ।”

बाढीका कारण नेपालको विकास थप्प भएको र पुनर्निर्माणका लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १० प्रतिशत रकम लाग्ने अनुमान गरिएको बताउँदै बालेनले जलवायुजन्य विपद्को मारमा परेका गरिब राष्ट्रहरूलाई थप ऋणको भार बोकाउन नहुने तर्क गरेको गार्डियनले जनाएको छ।

अन्तर्राष्ट्रिय सहायता प्रणालीलाई ‘अत्यधिक नोकरशाही र अपर्याप्त’ को संज्ञा दिँदै बालेनको भनाइ उद्धृत गरी गार्डियनले लेखेको छ: “जब जलवायुजन्य विपद्ले कुनै गरिब देशको पूर्वाधार नष्ट गर्छ, तब त्यसको समाधान अर्को ठूलो ऋण वा साना अनुदानको टुक्राटाक्री मात्र हुन सक्दैन। हामीलाई विश्वबाट पर्याप्त र अनुदानमा आधारित सहयोग चाहिन्छ।”

ग्लोबल कार्बन प्रोजेक्टको तथ्याङ्क उद्धृत गर्दै गार्डियनले विगत ७५ वर्षमा अमेरिकाले नेपालको तुलनामा करिब १,५०० गुणा बढी कार्बन उत्सर्जन गरेको उल्लेख गरेको छ। समाचारमा अमेरिकाले बाढी पुनरुत्थानका लागि दिएको ३ करोड १० लाख डलर र विश्व बैंकले उपलब्ध गराएको १७ करोड डलरको आपत्कालीन सहायताको पनि चर्चा गरिएको छ।

साथै, युएन जलवायु शिखर सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले दिएको अभिव्यक्तिलाई साभार गर्दै गार्डियनले लेखेको छ: “नेपालमा जे भयो, त्यो कुनै एक्लो विपद् होइन, बरु यसले जलवायु जोखिममा रहेका धेरै राष्ट्रहरूलाई भोलि पर्न सक्ने सङ्कटको पूर्वझलक दिएको छ।”

सम्बन्धित खबर

सिफारिस