
काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
सोमबार बिहान करिब ८ बजे आठबिसकोट नगरपालिका-५, थापागाउँबाट सोही वडाको नयाँडाँडातर्फ जाँदै गरेको भे १ च ३११२ नम्बरको डबल क्याप जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर र आठ जनाको अवस्था मध्यम रहेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक उद्धारपछि घाइतेहरूलाई आठबिसकोट नगर अस्पतालतर्फ पठाइएको थियो ।