
काठमाडौँ । भारतको मध्यप्रदेश राज्यमा दीपावलीको रात भएका दुई छुट्टाछुट्टै भीषण आगलागीका घटनामा १२ जनाको ज्यान गएको छ । कटनी र सिवनी जिल्लामा भएका ती दुर्घटनामा चार जना घाइते भएका छन्। घटनामा बालबालिकादेखि वृद्धवृद्धासम्मको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो घटना कटनी जिल्लाको बरही कस्बामा आइतबार राति करिब ११ः३० बजे भएको हो । कटनी जिल्ला सदरमुकामबाट करिब ५५ किलोमिटर टाढा रहेको बरहीको मुख्य बजारमा पूरन अग्रवाल र रितेश अग्रवालको क्रोकरी ९भाँडाकुँडा० पसलमा अचानक आगो लागेको थियो ।
पसलमाथि नै अग्रवाल परिवार बस्दै आएको तीनतले आवासीय भवन थियो । पसलबाट सुरु भएको आगो केही समयमै भवनका अन्य भागमा फैलिँदा घरभित्र सुतिरहेका परिवारका सदस्यहरू बाहिर निस्कन पाएनन् । घटनामा ७७ वर्षीय पूरन अग्रवाल, उनकी पत्नी चन्द्रकला (७४), बुहारी पूनम, १४ वर्षीया आर्या, ६ वर्षीया अन्वी र दुई महिनाका शिशुसहित परिवारका छ सदस्यको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आगलागीका बेला रितेश अग्रवाल र परिवारकी अर्की एक महिला भने बाहिर निस्केर ज्यान जोगाउन सफल भएका थिए ।
घटनास्थलमा बरही, विजयराघवगढ, कैमोर र कटनी नगर निगमका दमकल टोली पुगेका थिए। आगो नियन्त्रणमा लिन करिब पाँच घण्टा लागेको बताइएको छ । बिहानसम्म पनि उद्धार कार्य जारी रहेको थियो । भारतीय सञ्चारमाध्यम नयाँदुनियाका अनुसार बिहान करिब ४ः३० बजे पूरन अग्रवाललाई बाहिर निकालिएको थियो भने अन्य पाँच जनालाई बिहान करिब ६ः३० बजे जेसीबीको सहायताले भवनको पर्खाल भत्काएर बाहिर निकालिएको थियो ।
यस घटनामा दमकल सेवाको तयारी र उद्धार व्यवस्थामाथि समेत प्रश्न उठेको छ । समाचार विवरणअनुसार बरही नगर परिषद्को दमकल गाडी घटनास्थलमा पुगे पनि त्यसको पाइपमा खराबी थियो । पछि विजयराघवगढबाट पुगेको दमकलको पाइपमा समेत समस्या देखिएको बताइएको छ । यसले आगो नियन्त्रण गर्ने प्रयासमा अवरोध सिर्जना गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सिवनीमा सुनचाँदी व्यवसायीको परिवारका छ जनाको मृत्यु
यसैगरी, मध्यप्रदेशकै सिवनी जिल्लाको छपारा नगरस्थित महावीर वार्डको जैन मोहल्लामा सोमबार बिहान अर्को भीषण आगलागी भएको छ । सुनचाँदी व्यवसायी कुन्दनलाल सोनीको तीनतले घरमा आगलागी हुँदा एउटै परिवारका छ जनाको मृत्यु भएको हो ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार बिहान करिब ४ बजेदेखि ४ः३० बजेको बीचमा आगलागी भएको थियो । घरमा परिवारका सदस्यहरू सुतिरहेका बेला आगो तीव्र गतिमा फैलिएको थियो । आगलागीबाट घरभित्र रहेका मानिसहरू प्रभावित भएका थिए ।
लखनादौनका एसडीओपी अपूर्व भलावीका अनुसार घटनाका बेला घरमा कुल १० जना उपस्थित थिए । तीमध्ये छ जनाको मृत्यु भएको छ भने चार जनालाई उद्धार गरी अस्पताल पुर्याइएको छ ।
मृत्यु हुनेमा ७५ वर्षीय कुन्दनलाल सोनी, उनकी ६५ वर्षीया पत्नी राजकुमारी सोनी, ४२ वर्षीया ऋतु सोनी, ४० वर्षीया स्मृति सोनी, ४५ वर्षीया सूर्या सोनी र १६ वर्षीय आदित्य सोनी रहेका छन् ।
आगलागीको खबर पाएलगत्तै प्रहरी, दमकल र एम्बुलेन्स टोली घटनास्थल पुगेका थिए । स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको थियो । पछि दमकल तथा उद्धार टोलीले आगो नियन्त्रणमा लिएका थिए ।
दीपावलीको अवसरमा भएका यी दुई घटनाले मध्यप्रदेशमा ठूलो मानवीय क्षति पुर्याएको छ । दुवै घटनामा गरी १२ जनाको मृत्यु र चार जना घाइते भएका छन् । विशेषगरी कटनीको घटनामा दुई महिनाको शिशुसहित एउटै परिवारका छ जनाको मृत्यु हुनु र सिवनीमा पनि वृद्धवृद्धा तथा किशोरको ज्यान जानुले घटनालाई थप हृदयविदारक बनाएको छ ।
प्रारम्भिक समाचार विवरणअनुसार दुवै घरमा आगो लाग्नुको वास्तविक कारण अझै खुल्न सकेको छैन । विद्युत् सर्ट, दीपावलीका क्रममा प्रयोग गरिएका दियो तथा अन्य विद्युतीय सामग्री वा पटाकासँग सम्बन्धित सम्भावनाबारे आधिकारिक पुष्टि भएको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
कटनीको घटनाले व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने भवनमा आवाससमेत सञ्चालन गर्दा अपनाउनुपर्ने अग्नि सुरक्षा व्यवस्था, आपत्कालीन निकास र दमकल सेवाको तयारीबारे गम्भीर प्रश्न उठाएको छ । त्यस्तै, रातिको समयमा आगलागी हुँदा घरभित्र सुतिरहेका मानिसलाई सुरक्षित बाहिर निकाल्न पर्याप्त समय नपुग्दा हुन सक्ने जोखिमसमेत यी घटनाले उजागर गरेका छन् ।
दीपावलीलाई उज्यालो, उत्साह र खुसीको पर्वका रूपमा मनाइरहेका बेला दुई परिवारमा भएको यो अकल्पनीय क्षतिले मध्यप्रदेशका दुवै क्षेत्रमा शोक र स्तब्धता फैलिएको छ ।