
काठमाडौँ । जटिल प्रसूति समस्याबाट ग्रसित चार महिलालाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत उद्धार गरी थप उपचारका लागि अस्पताल पुर्याइएको छ ।
राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन भइरहेको उक्त कार्यक्रममार्फत कार्तिक २२ गते मुगु, हुम्ला र गोरखाका चार महिलाको हवाई उद्धार गरिएको हो ।
मुगुको खत्याड गाउँपालिका-९ निवासी २० वर्षीया देवकी खड्कालाई जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हवाई साधनमार्फत थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत पुर्याइएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका स्थायी ठेगाना भई हाल हुम्लाको सिमकोटमा बसोबास गर्दै आएकी २० वर्षीया सरिता बोहरालाई पनि हवाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको छ ।
यसैगरी, गोरखाको चुमनुब्री गाउँपालिका-३, सिर्दिवास निवासी ३१ वर्षीया सुन्तली गुरुङ र २३ वर्षीया सुप्रिया गुरुङलाई जटिल प्रसूति समस्याका कारण हवाई उद्धार गरी काठमाडौँस्थित प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली पुर्याइएको छ ।
भौगोलिक विकटता तथा स्वास्थ्य सेवामा सहज पहुँचको अभावका कारण ज्यान जोखिममा पर्न सक्ने गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस कार्यक्रमले जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा गर्नुका साथै सुरक्षित मातृत्व प्रवर्द्धन र आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।