इजरायल पठाइदिने भन्दै साढे २ करोड ठगी, मुख्य आरोपी कांग्रेस नेता भरत चौलागाईं पुर्पक्षका लागि जेल चलान

दियोपोस्ट संवाददाता

काठमाडौँ । वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको घटनाका मुख्य आरोपी भरत चौलागाईंलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतले शुक्रबार रामेछापका चौलागाईंलाई थुनामा पठाउन आदेश गरेको हो ।

अदालतको आदेशअनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक अधिकृतले बताए । चौलागाईं रामेछापको सुनापति गाउँपालिका–१ का स्थानीय हुन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा नेपाली कांग्रेसका निवर्तमान महाधिवेशन प्रतिनिधिसमेत रहेका चौलागाईंलाई प्रहरीले असोज १ गते पक्राउ गरेको थियो । सोही प्रकरणमा प्रहरीले दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ र दीपेन्द्रसिंह सामन्तलाई समेत पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अदालतले बालिका शिवाकोटीलाई एक लाख रुपैयाँ, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई जनही दुई लाख ५० हजार रुपैयाँ तथा दीपेन्द्रसिंह सामन्तलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

प्रहरीको अनुसन्धानअनुसार केयर गिभरको रोजगारीका लागि इजरायल पठाइदिने भन्दै आरोपीहरूले विभिन्न व्यक्तिबाट करिब दुई करोड ५० लाख रुपैयाँ ठगी गरेका थिए । दोलखाको कालिन्चोक गाउँपालिका-८ निवासी ३२ वर्षीया बालिका शिवाकोटीले आफूले संकलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई बुझाएको बयान प्रहरीसमक्ष दिएकी थिइन् ।

नेपाल सरकारले सन् २०२४ मा इजरायलमा केयर गिभरका रूपमा कामदार पठाउन छनोट प्रक्रिया सञ्चालन गरेको थियो । उक्त प्रक्रियामा लक्की ड्रमार्फत उम्मेदवार छनोट गरिएको थियो । प्रहरीको अनुसन्धान निष्कर्षअनुसार छनोटमा नपरेका १५६ जनालाई समेत इजरायल पठाइदिने आश्वासन दिएर चौलागाईं नेतृत्वको समूहले रकम असुलेको थियो ।

सरकारी प्रक्रियामार्फत मात्रै कामदार छनोट हुने व्यवस्थाबीच राजनीतिक पहुँच र उच्चपदस्थ व्यक्तिको नाम दुरुपयोग गरेर रकम असुलिएको यो घटनाले वैदेशिक रोजगारीका नाममा हुने ठगीको गम्भीर रूप उजागर गरेको छ ।

सिफारिस