धनकुटामा पटका पड्काउन र राति १० बजेपछि देउसीभैलो खेल्न रोक

दियोपोस्ट संवाददाता

काठमाडौँ । धनकुटामा पटका पड्काउन र राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको छ । तिहारलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय धनकुटाले पटका पड्काउन तथा राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाएको हो ।

कार्यालयले चाडपर्वका अवसरमा जिल्लावासीलाई आतसबाजी, पटका, भुइँचम्पा, रकेट, बमलगायत विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद-बिक्री, ओसारपसार र प्रयोग नगर्न आग्रह गरेको छ ।

त्यस्तै, देउसीभैलोका कार्यक्रम मौलिक संस्कृतिको संरक्षण हुने गरी मर्यादित, अनुशासित र व्यवस्थित रूपमा राति १० बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ ।

देउसीभैलो खेल्दा गीतसंगीत तथा ध्वनि उपकरणको आवाजलाई मर्यादित राख्न र मदिरा सेवन, होहल्ला, झैझगडा तथा जबर्जस्ती चन्दा माग्ने कार्य नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले सूचनामा उल्लेखित विपरीतका गतिविधि भएमा सुरक्षा निकायको फोन नम्बर १०० वा ९८५७ मार्फत जानकारी गराउनसमेत अनुरोध गरेको छ ।