भाइटीकाको दिन काठमाडौँसहित धेरै ठाउँमा हल्का वर्षाको सम्भावना

दियोपोस्ट संवाददाता

काठमाडौँ । भाइटीकाको दिन काठमाडौँसहित देशका धेरै ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार लामो समयदेखि चिसो हावा मात्र ल्याइरहेको पश्चिमी वायुको प्रभावले अब वर्षा पनि हुन थालेको छ ।

उनका अनुसार डोटीमा अहिले हल्का वर्षा भइरहेको छ । आज अपराह्नदेखि पश्चिमी पहाडी भेगसहित देशका केही स्थानमा बादल लाग्ने र वर्षा सुरु हुने सम्भावना छ ।

भोलिदेखि भने वर्षा हुने क्षेत्र थप विस्तार हुन सक्ने उनले बताएका छन् । भाइटीकाका दिन काठमाडौँलगायत देशका धेरै ठाउँमा हल्का वर्षा हुन सक्ने उनको अनुमान छ ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बाहिर आयोजना हुने कार्यक्रम तथा यात्राको योजना बनाउँदा मौसमको अवस्थासमेत ख्याल गर्न उनले आग्रह गरेका छन् ।

वर्षा हुने स्थान, समय र मात्रामा परिवर्तन हुन सक्ने भएकाले मौसमसम्बन्धी नियमित अपडेट हेर्नसमेत उनले अनुरोध गरेका छन् ।