यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

दियोपोस्ट संवाददाता

काठमाडौँ । तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा प्रहरी परिचालन र निगरानी बढाइएको छ ।

बजार क्षेत्र, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका तथा बढी भीडभाड हुने स्थानलाई विशेष प्राथमिकतामा राखिएको छ । चाडपर्वका समयमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्य पदार्थमा मिसावट र आगलागी हुन सक्ने जोखिमलाई प्रहरीले प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको छ ।

यस्ता गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच तथा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । सुरक्षा निगरानी प्रभावकारी बनाउन सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै तत्काल प्रतिकार्यका लागि द्रुत परिचालन टोली र विपद् व्यवस्थापनमा खटिने जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकता दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा पनि यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

लामो दूरीका सवारीसाधन सञ्चालन गर्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्थासम्बन्धी कागजात जाँच गर्ने व्यवस्था मिलाइएको छ । लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

सीमा नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षमार्फत स्वदेश फर्किने नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा अन्य दुर्व्यवहारबाट जोगाउन आवश्यक सहयोग उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।