दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार बेलुकी घोराही उपमहानगरपालिका-१२ को साजखर्कबाट पश्चिम दाङको साशर खोला जाँदै गरेको भे १ ज ६०४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घोराही-१२ का ४० वर्षीय शेरमान घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घोराही-१२ का १३ वर्षीय उमेश बुढा, ६ वर्षीय विकास बुढा, २८ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय मानबहादुर बुढा र तुलसीपुर उपमहानगरपालिका-१३ का ९ वर्षीय अनमोल पुन घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरीले जिपका चालक तथा धनी घोराही-१२ का ३७ वर्षीय धमन घर्ती मगरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।