
काठमाडौँ । नेपाल आयल निगमले तिहारको बिदामा पनि १३ वटा डिपो तथा कार्यालय खुला राख्ने भएको छ । निगमले तिहार तथा दीपावली अवसरमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि देशका विभिन्न स्थानमा रहेका १३ वटा डिपो तथा कार्यालय खुला राख्ने भएको हो ।
निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै स्थानीय आवश्यकताअनुसार सार्वजनिक बिदाका दिनमा समेत पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने जनाएको हो ।
निगमका अनुसार विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलस्थित डिपो तथा प्रादेशिक कार्यालय खुला रहनेछन् ।
तिहारका समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तथा उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ ।