
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ।
पर्वका समयमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।
यसै विषयमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो । बैठकमा पर्वका समयमा विद्युत् आपूर्ति सहज बनाउने तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौती व्यवस्थापनबारे छलफल गरिएको थियो ।
प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरी विद्युत् आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्ति परिचालनबारे समन्वय गरिएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सबै तयारी गर्न र कुनै समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई निर्देशन दिएका छन् ।
त्यस्तै, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण गरी सम्भावित अवरोध न्यूनीकरण गर्न र ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाई उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।
लक्ष्मीपूजामा १ हजार ७०० मेगावाट माग हुने अनुमान
तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ। उक्त माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् ।
प्राधिकरणका अनुसार सो अवधिमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । आन्तरिक मागभन्दा उत्पादन बढी हुने अनुमान रहेकाले विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको विश्वास छ ।
पर्व अवधिभर विद्युत्को माग र आपूर्तिको अवस्था नियमित अनुगमन गर्न सम्बन्धित विभाग तथा केन्द्रबीच निरन्तर समन्वय गरिने पनि प्राधिकरणले जनाएको छ।
विद्युत् सुरक्षित रूपमा प्रयोग गर्न आग्रह
प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत् सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ।
घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ।