तिहारमा कस्तो रहन्छ मौसम ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । तिहार सुरु भएसँगै आज काग तिहार मनाइँदै छ। यस वर्षको भाइटीका कात्तिक २५ गते परेको छ । तिहारका मुख्य दिनहरूमा देशभरको मौसम कस्तो रहला भन्ने चासोका बीच जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पाँच दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ।

महाशाखाले कात्तिक २१ गतेदेखि २५ गतेसम्म अर्थात् काग तिहारदेखि भाइटीकासम्मको सम्भावित मौसमबारे प्रक्षेपण गरेको हो। पूर्वानुमानअनुसार तिहार अवधिभर तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ भने हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ।

महाशाखाका अनुसार कात्तिक २१ गते शनिबार काग तिहारका दिन देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र र देशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराई, उपत्यका र खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्नेछ ।

त्यस्तै, कात्तिक २२ गते आइतबार लक्ष्मीपूजाका दिन पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

कात्तिक २३ गते सोमबार औँसीका दिन पनि मौसममा खासै परिवर्तन नहुने महाशाखाले जनाएको छ । यस दिन हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। बिहानको समयमा तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।

यसैगरी, कात्तिक २४ गते मंगलबार गोवर्धन पूजाका दिन हिमाली तथा पहाडी भूभागसँगै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको अनुमान छ । बिहान तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ ।

भाइटीका परेको कात्तिक २५ गते बुधबार पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । यस दिन हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराई, उपत्यका र खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

समग्रमा तिहारका पाँचै दिन तराई क्षेत्रमा मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले यात्रा तथा बाहिरी गतिविधि गर्दा मौसमको अवस्थाबारे जानकारी लिनु उपयुक्त हुनेछ। शीर्षक राखिदिने