बागमतीका पूर्वमुख्यमन्त्री बानियाँका छोरा ३४ करोड बैंकिङ कर्जा दुरुपयोगको आरोपमा पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँका छोरा दीक्षान्त बानियाँ ३४ करोड रुपैयाँ बैंकिङ कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बानियाँलाई सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४, भैरहवाबाट पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ निवासी बानियाँ बानियाँ निर्माण सेवाका कार्यकारी निर्देशकसमेत रहेको थिए । प्रारम्भिक अनुसन्धानअनुसार बानियाँले भूगर्भ सिमेन्ट कम्पनीका नाममा चारवटा बैंकबाट करिब ३४ करोड रुपैयाँ कर्जा लिएको र उक्त रकम स्वीकृत प्रयोजनभन्दा फरक क्षेत्रमा प्रयोग गरेको आरोप छ ।

सिमेन्ट उद्योग सञ्चालन तथा त्यससँग सम्बन्धित व्यावसायिक प्रयोजनका लागि लिइएको कर्जा अन्य कम्पनीमा लगानी गर्नुका साथै सेयर खरिदमा समेत प्रयोग गरिएको अनुसन्धान स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेपाल राष्ट्र बैंकको पत्रसहित प्राप्त जाहेरीका आधारमा उनीविरुद्ध अनुसन्धान अघि बढाइएको सिआईबीले जनाएको छ । नेपाल सरकार वादी र दीक्षान्त बानियाँ प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटन, हरिहरभवन ललितपुरबाट पक्राउ अनुमति लिएर सीआईबीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउपछि बानियाँलाई अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

बानियाँले लिएको कर्जा चुक्ता गरिसकेको भए पनि रकम स्वीकृत प्रयोजनभन्दा अन्यत्र प्रयोग भएको देखिएपछि अनुसन्धान अघि बढाइएको बताइएको छ ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ मा बैंक वा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिइएको हो, सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गर्न नहुने व्यवस्था छ । उक्त व्यवस्थाको उल्लङ्घन भएको ठहर भए ऐनको दफा १५ अनुसार सजाय हुन सक्ने प्रावधान छ ।

 

सम्बन्धित खबर

सिफारिस