
बझाङ । बझाङको केदारस्युँ गाउँपालिका-७ काँडाचौर जाने भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका-७ काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा केदारस्युँ गाउँपालिका-७ काँडाचौरकी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको छ ।
दुर्घटनामा सोही गाउँपालिकाका ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका-६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् ।
त्यस्तै, केदारस्युँ गाउँपालिका-७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन् । प्रहरीका अनुसार बुङ्गल नगरपालिका-२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको उक्त जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनापछि स्थानीयवासीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ । घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले प्रहरी टोलीलाई पुग्न करिब तीन घण्टा लाग्ने डीएसपी जोराले बताए । प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको थियो ।
बझाङको केदारस्युँ गाउँपालिका-७ क्षेत्रमा यसअघि पनि गम्भीर जिप दुर्घटना भएको थियो । २०८३ असार २७ गते काँडाचौरबाट दुर्गाथली गाउँपालिका-६ चुवावनतर्फ जाँदै गरेको अर्को जिप सुँगरे क्षेत्रमा सडकबाट करिब ३०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घाइतेहरूको स्वास्थ्य अवस्था र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।