प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’ : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण !

सुदीप विश्वकर्मा

काठमाडौँ । सर्वोच्च अदालतदेखि विभिन्न अदालतहरूमा बिचौलियाको भूमिका निभाएको भेटिएपछि पक्राउ परेका ‘फिक्सर’ इनम सापकोटाको उच्च तहसँग सम्पर्क देखिएको छ। पक्राउ परेका बिचौलिया सापकोटाले प्रधानमन्त्री बालेन्द्र शाहको नामसमेत दुरुपयोग गरी न्यायाधीशहरूलाई फोन गर्ने, सन्देश पठाउने र मुद्दामा सेटिङ गर्ने गरेको पाइएको छ। पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेपछि उनको मोबाइलमा भेटिएको संवादका आधारमा पक्राउ परेका बिचौलिया सापकोटाले बहालवाला प्रधानन्यायाधीशको नाममा समेत अमेरिका र नेपालका बैङ्कहरूमा घुस रकम जम्मा गर्ने गरेको प्रमाण फेला परेको छ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग अति निकट सम्पर्क र सम्बन्ध भएका हालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा र शर्मासँगै बिचौलियाको भूमिका निभाएका रास्वपाका सांसद तथा तत्कालीन नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको नाममा अमेरिका र नेपालका बैङ्कमा घुस रकम जम्मा गर्ने गरी संवाद भएको भेटिएको छ।

जनवरी, नोभेम्बर र डिसेम्बर तीन महिनाको गरेर जम्मा १ लाख ९८ हजार ३ सय ३३ रकम भएको र त्यसमा कर कटाउँदा १ लाख ७४ हजार ३ सय ३३ हुने उल्लेख छ। यद्यपि, उक्त रकम डलरमा हो वा नेपाली रुपैयाँमा भन्ने खुलाइएको छैन। रकमको तलतिर मनोजकुमार शर्मा (चिफ जस्टिस), ओखलढुङ्गाबाट निर्वाचित सांसद तथा पूर्वएआईजी विश्वराज पोखरेल (ओखलढुङ्गा) र सशस्त्र प्रहरीका एआईजी वंशी दाहालको नाम उल्लेख छ।

उक्त रकमहरू अमेरिकामा रहेका बिचौलिया इनम सापकोटाका सालो नीराजन पाण्डेको नाममा रहेको बैङ्क अफ अमेरिकाको खातामा जम्मा गर्नु भनेर खाता नम्बरसमेत उपलब्ध गराइएको छ। इनमले उक्त रकम जम्मा गर्न भनी पठाएको सन्देशमा नेपाली बैङ्कमा जम्मा गरे इनमकी श्रीमती कविता पाण्डेको खातामा जम्मा गर्नुपर्ने विकल्पसमेत दिइएको छ।

यसरी नाम उल्लेख भएकै आधारमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल भने निलम्बनपछि बर्खास्तमा समेत परिसकेका छन्। तर, रकम नै जम्मा भएको भेटिए पनि प्रधानन्यायाधीश शर्मा र रास्वपाका सांसद पोखरेलमाथि छानबिन भएको छैन। स्रोतका अनुसार तत्कालीन प्रधानन्यायाधीश जबराको पालामा हालका प्रधानन्यायाधीश शर्मा र रास्वपाका सांसद पोखरेल जबराकै निवासबाट अदालत सेटिङ गर्ने कार्यमा थिए। उनीहरूले अदालत सेटिङ गर्ने र घुसबापतको रकम इनमजस्ता बिचौलियाको नाममा विभिन्न खातामा राख्ने गरेको खुलेको छ। रास्वपा सांसद पोखरेलले त सालीको नाममा अर्बौँ रकम जम्मा गरेको स्रोत बताउँछ।

त्यस्तै, बिचौलिया सापकोटाले सर्वोच्चकै अर्का न्यायाधीश हरि फुयाँलसँग मुद्दाको विषयमा प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरेर संवाद गरेका छन्। प्रधानमन्त्रीले तपाईँलाई सोधेको छ भन्दै इनमले फुयाँललाई सन्देश पठाएपछि फुयाँलले जवाफ दिएका छन्।

प्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनको मोबाइलमा भेटिएको शङ्कास्पद पात्र सापकोटासँग सम्बन्ध देखिएपछि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बनसँगै बर्खास्तमा परेका छन्। नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, एआईजी राजन अधिकारीले समेत सापकोटालाई सूचना दिने गरेको पाइएको थियो। दियो पोस्टले यो विषय खुलासा गरेपछि प्रधानमन्त्री बालेन शाहको सचिवालयले आईजी कार्कीको राजीनामा मागेको खबर केही सञ्चारमाध्यमले लेखेका छन्। तर, पुष्टि भने भइसकेको छैन।

गत असोज १४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका उनको मोबाइलमा नेपाल प्रहरीकै उच्च अधिकारीको समेत सम्पर्क र रहस्यमय सम्बन्ध देखिएको छ।

सापकोटाले सिंगापुरको मोबाइल नम्बरमा समेत कुराकानी गर्ने गरेको देखिएको छ। त्यसो त, उनको सिंगापुरमा कम्पनीसमेत रहेको छ। दुबईमा अपार्टमेन्टसमेत रहेको देखिएको छ। उनले नेपालमा मुद्दाको सेटिङ गर्ने र दुबई, अमेरिका र सिंगापुरलगायतका मुलुकमा लेनदेन गर्ने गरेको खुलेको छ। त्यसैले पनि उनको अधिकांश सम्पर्क भिआइपीहरूसँग देखिएको छ। उनको सम्पर्क हुने, लेनदेन हुने र कारागारमा रहेका थुनुवा, कैदीहरू छुट्नेसम्मका घटनाहरू अनुसन्धानले देखाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी कारागार चलान भएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग समेत उनको निकट सम्बन्ध देखिएको छ। उनकै सेटिङमा खाँण छुटेको समेत आशंका अनुसन्धानमा संलग्न स्रोतलाई छ। त्यस्तै, कांग्रेस नेताहरूसँगको कुराकानीपछि सर्वोच्च अदालतमा आधिकारिकतासम्बन्धी विवादको मुद्दामा कांग्रेसका नेताहरू उत्साहित देखिएकोसमेत पाइएको छ।

नेपालका ठूला नेता, न्यायाधीश, कर्मचारीले विदेशी मुलुकमा घुस जम्मा गर्ने गरेको सार्वजनिक चर्चा हुने गरेको थियो। झापाको दमक घर भएका सामान्य ३० वर्षीय युवा इनम सापकोटालाई यसरी उच्च तहको सेटिङमा उपयोग गरी विभिन्न विदेशी मुलुकमा रकम जम्मा गरेको पुष्टि भएपछि सार्वजनिक चर्चाको यो विषय अब राजनीतिक मुद्दा बन्ने देखिन्छ।

प्राप्त कागजातबारे प्रतिक्रियाका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश शर्माको नम्बरमा फोन गर्दा उनको फोन स्विच अफ छ। त्यस्तै, रास्वपाका सांसद विश्वराज पोखरेल पनि सम्पर्कमा आएका छैनन्। उनीहरूसँग सम्पर्क वा प्रतिक्रिया प्राप्त भएपछि त्यसलाई समेत स्थान दिइनेछ।

सम्बन्धित खबर

सिफारिस