
एजेन्सी- तन्जानियाको प्रसिद्ध सेरेन्गेटी राष्ट्रिय निकुञ्जमा हालै गरिएको ठूलो पुरातात्त्विक उत्खननका क्रममा नवपाषाण कालीन मानव अवशेषहरू र लोप भइसकेको जिराफको अज्ञात प्रजातिको जिवाश्मासहितका महत्त्वपूर्ण खोजहरू गरिएका छन्।
पोल्याण्डको रोक्लाभ विश्वविद्यालय र पोलिश एकेडेमी अफ साइन्सेसको इन्स्टिच्युट अफ आर्किटेक्चर्स एन्ड इथ्नोग्राफीका अनुसन्धानकर्ताहरूले डार् एस सलाम विश्वविद्यालयका वैज्ञानिकहरूसँगको सहकार्यमा यो दुई महिना लामो पहिलो चरणको अभियान सञ्चालन गरेका हुन्। यस पुरातात्विक खोजले यस क्षेत्रको प्राचीन इतिहाससम्बन्धी ज्ञानलाई नाटकीय रूपमा विस्तार गरेको छ।
अनुसन्धानकर्ताहरू विशेष गरी मध्य पाषाण कालका समुदायहरू र पूर्वी अफ्रिकाको बदलिँदो वातावरणबीचको सम्बन्धमा केन्द्रित थिए। प्रोफेसर मार्टा ओसिपिन्स्काका अनुसार यहाँका बासिन्दाहरूले सहर वा मन्दिरहरू नबनाई साना अवशेष मात्र छोडेकाले यस्ता पुरातात्त्विक प्रमाणहरू पहिचान गर्न निकै कठिन हुने भए पनि यहाँको पुरातात्त्विक समृद्धिले उनीहरूलाई पूर्ण रूपमा चकित पारेको छ।
अभियानको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक नवपाषाण कालीन गोठालाहरूको बस्तीमा दर्जनौं मानव अवशेषहरू (धेरै दाँतहरू लगायत) फेला पर्नु हो। सेरेन्गेटीमा यसअघि कुनै पनि कालखण्डका मानव दफनाइएको स्थान वा चिहान नभेटिएकाले यो खोज ऐतिहासिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ। यसले प्राचीन कालमा मानिसहरूले मृतकसँग गर्ने व्यवहार, बसाइँसराइ, स्वास्थ्य र आहारबारे नयाँ जानकारी दिनेछ।
यसबाहेक, प्लीइस्टोसिन कालको लोप भिसकेको जिराफको लगभग पूर्ण फसिल खप्पर र हाड फेला परेको छ, जुन विज्ञानको लागि पूर्ण रूपमा अज्ञात नयाँ प्रजातिको हुन सक्ने अनुमान गरिएको छ। यसले जिराफको विकास र विविधता बुझ्न ठूलो मद्दत गर्नेछ। यसैगरी, यस क्षेत्रमा मध्य पाषाणकालीन स्थलहरूको संख्या एकै सिजनमा करिब ३०० प्रतिशतले बढेको छ।
टोलीले लोइयाङ्गलानी लगायतका क्षेत्रमा ठूला उत्खनन क्षेत्रहरू निर्माण गरी कार्य गरेको थियो।
स्वाहिली भाषामा “हिप्पो” (पानीगोही) अर्थ लाग्ने ‘किबोको’ नामक नयाँ स्थलमा गरिएको उत्खननबाट ढुंगाका औजारहरू र राम्रोसँग सुरक्षित रहेका जनावरका अवशेषहरू फेला परेका छन्। त्यहाँ कछुवाको खप्परबाट सजावटका वस्तु वा गहनाहरू बनाइएको संकेतसमेत भेटिएको छ, जसले प्राग्ऐतिहासिक मानवहरूको अमूर्त सोच, पहिचान र प्रतीकात्मक व्यवहारलाई दर्साउँछ।
संकलन गरिएका यी सबै सामग्रीहरूलाई विस्तृत वैज्ञानिक विश्लेषणका लागि युरोप र अमेरिकाका विशेष प्रयोगशालाहरूमा पठाइएको छ।
पोल्याण्डको राष्ट्रिय विज्ञान केन्द्रको सहयोगमा सञ्चालित यो अनुसन्धानमा तन्जानिया वाइल्डलाइफ रिसर्च इन्स्टिच्युट, तन्जानिया नेसनल पार्क्स र फ्रान्कफर्ट जुलाजिकल सोसाइटीले सहकार्य गरेका छन्। ओल्डुवाइ गोर्ज नजिकै रहेको सेरेन्गेटीको यो विशाल घाँसे मैदानमा मानव जातिको गहिरो पुर्ख्यौली इतिहास लुकेको र आगामी दिनमा थप ठूला आविष्कारहरू हुन सक्ने अनुसन्धानकर्ताहरूको विश्वास छ।
टोलीले आगामी फेब्रुअरी २०२७ मा थप प्रयोगशाला विश्लेषण र जुलाईमा अर्को फिल्ड सिजन सञ्चालन गर्ने योजना बनाएको छ। [हेरिटेज डेल्लीबाट]