
काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ३० वटा घरमा क्षति पुगेको छ । चक्रवातका कारण राज्यका ७१४ गाउँ प्रभावित भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवातले आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा जनधनको क्षति पुर्याउनुका साथै जनजीवन प्रभावित बनाएको छ ।
२८ अक्टोबर २०२६ को बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवात अर्नबले तीव्र हावाहुरी र भारी वर्षा निम्त्याएको हो । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार चक्रवात बिहान करिब १ः२० बजे काकीनाडानजिकै जमिनमा प्रवेश गर्न थालेको थियो । उक्त क्षेत्र यानमको दक्षिणमा तथा बापटला र विशाखापट्टनमको बीचमा पर्छ ।
चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा घरका छाना उड्नुका साथै रुख र बिजुलीका खम्बा ढलेका छन् । तटीय क्षेत्रका होचा भूभागमा डुबान भएको छ । चक्रवातको प्रभाव ओडिशाको दक्षिणी क्षेत्रमा समेत देखिएको छ, जहाँ तीव्र हावाहुरीसँगै भारी वर्षा भइरहेको छ ।
प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेको छ भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ । चक्रवातका कारण कृषि क्षेत्रमा समेत क्षति पुगेको जनाइएको छ ।
कमजोर बन्दै चक्रवात अर्नब
चक्रवात अर्नबको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो । हावाको झोक्का भने प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ ।
जमिनमा प्रवेश गरेपछि चक्रवातको तीव्रता क्रमशः घट्दै गएको छ । यससँगै सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’का रूपमा वर्गीकरण गरिएको प्रणालीलाई घटाएर ‘भीषण चक्रवाती आँधी’को श्रेणीमा राखिएको छ ।
मौसम पूर्वानुमानअनुसार चक्रवात दिउँसोसम्म कमजोर भएर सामान्य चक्रवाती आँधीमा परिणत हुनेछ । साँझसम्म यसको शक्ति थप घटेर गहिरो न्यूनचापीय प्रणालीमा सीमित हुने अनुमान गरिएको छ ।
नेपालमा पनि वर्षा र हिमपातको सम्भावना
चक्रवात अर्नबको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलमा रहेको प्रणालीसँग मिसिएपछि वर्षा तथा हिमपात गराउन सक्ने मौसमविद्हरूले बताएका छन् ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभावको संकेत बुधबारदेखि नै देखिनेछ । बिहीबार रातिदेखि भने उच्च हिमाली क्षेत्रमा हिमपात र अन्य स्थानमा वर्षा हुने सम्भावना छ ।
उनका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्छ । केही स्थानमा भने भारी वर्षा वा हिमपातको सम्भावना रहेको उनले जानकारी दिइन् ।
सम्भावित मौसम प्रतिकूलतालाई ध्यानमा राख्दै मौसमविद् महर्जनले उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेकी छन् । हिमाली क्षेत्रमा पुगिसकेका व्यक्तिलाई सुरक्षित स्थानतर्फ फर्किन तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि उनले सुझाव दिएकी छन् ।