
काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै मलेसिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर मलेसिया नपठाई सम्पर्कविहीन हुने गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा झापा जिल्लाको मेचीनगर नगरपालिका-६ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-१० बस्ने ४४ वर्षीय सञ्जय सुवेदी र चितवन जिल्लाको राप्ती नगरपालिका-१ स्थायी घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका-१० बस्ने ३४ वर्षीया मधुमालती स्याङ्तान रहेका छन् ।
प्रहरीका अनुसार सुवेदीले मलेसिया पठाइदिने भन्दै एक जना पीडितबाट सात लाख रुपैयाँ ठगी गरेको आरोप छ । त्यस्तै, स्याङ्तानले पनि वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
दुवै जनालाई २०८३ साल असोज ९ गते काठमाडौं महानगरपालिका- १४ क्षेत्रबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको बताइएको छ ।
वैदेशिक रोजगारीमा जाने योजना बनाएका युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा नपर्न र रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता जाँच गर्न प्रहरीले आग्रह गरेको छ ।