
बुटबल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफुमाथि जालसाजी भएको आरोप लगाउँदै मुद्धा दायर गरेकी हुन् ।
काफ्लेले आफूलाई पदमुक्त गर्न प्रयोग गरिएको पत्रमा कीर्ते तथा जालसाजी भएको आरोप लगाएकी छन् । मंगलबार दायर मुद्दामा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र अजयकुमार झालाई विपक्षी बनाइएको छ ।
काफ्लेले पार्टीको आधिकारिक निर्णय र अधिकारप्राप्त पदाधिकारीको अनुमतिबिना तयार गरिएको पत्रका आधारमा आफूलाई पदमुक्त गरिएको दाबी गरेकी छन् । आफूले पार्टी नत्यागेको, अर्को दलमा प्रवेश नगरेको र राजीनामा पनि नदिएको भन्दै उनले विवादित पत्रलाई अमान्य घोषित गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा पार्टीको निर्देशन उल्लङ्घन गरेको आरोपमा काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो । जसपा नेपालका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेको सिफारिसमा प्रदेशसभा सचिवालयले भदौ २४ गते काफ्लेको पद रिक्त भएको सूचना जारी गरेको थियो । उक्त कारबाहीका लागि प्रयोग गरिएको पत्रको आधिकारिकतामाथि उनले प्रश्न उठाएकी छन् ।
पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
जिल्ला अदालतमा दायर फिरादपत्रमा विवादित पत्रको सक्कल प्रति, दर्ता तथा चलानी किताब, सचिवालयका निर्णय र पार्टीका आधिकारिक अभिलेख जाँच गर्न माग गरिएको छ । साथै, पत्रमा प्रयोग गरिएको लेटरहेड, छाप र हस्ताक्षरको परीक्षण गरी त्यसको वास्तविकता पत्ता लगाउन तथा संलग्न व्यक्तिहरूको भूमिका छानबिन गर्न पनि उनले आग्रह गरेकी छन् ।
यसैबीच, जसपा नेपालबाट लुम्बिनी प्रदेशसभामा पाँच सदस्य रहेकामा चार जना वर्तमान सरकारको पक्षमा उभिएपछि संसदीय दलले काफ्लेमाथि कारबाही गरेको थियो । तर, पार्टीको केन्द्रीय नेतृत्वले ती चार जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै निर्वाचन आयोगमा पत्राचार गरिसकेको छ । जसपा नेपालबाट लुम्बिनी प्रदेश सरकारमा दुई जना मन्त्री छन् ।
