चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते देशका विभिन्न स्थानमा भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अरनब’को प्रभाव कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ ।

चक्रवातको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको छ ।

सम्भावित विपद्बाट जोगिन प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक अन्य यात्रा नगर्न तथा नदी, खोला किनार र बाढीको जोखिम भएका क्षेत्रमा नबस्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

त्यसैगरी, मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न र विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ ।

प्रवक्ता केसीका अनुसार आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन सर्वसाधारणले मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सक्नेछन् ।

सम्बन्धित खबर

सिफारिस