विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोज विजयी भएको छ । चितवनले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको हो ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।

चितवनको जितमा कमल ऐरी नायक बने । उनले २६ रन खर्चेर चार विकेट लिए । रिजन ढकालले दुई विकेट लिँदा टम टेलर, रञ्जित कुमार, ड्यान मौस्ले र मौसम ढकालले एक-एक विकेट लिए ।

एनपीएलअन्तर्गत मंगलबार नै अर्को खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै छन् । उक्त खेल साँझ ५ बजे देखि भइरहेको छ ।
सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पूरा गर्दै लुम्बिनीले प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगितामा कुल ३२ खेल हुनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिताको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सम्बन्धित खबर

सिफारिस