
काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले आज सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई विभागले विभिन्न मितिमा पक्राउ पुर्जी जारी गरेका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको हो।
विभागका अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउनुपर्नेछ।
तोकिएको समयभित्र उपस्थित नभएमा वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।
त्यस्ता व्यक्तिको बैंकिङ कारोबार हुने खाता तथा यात्रा अनुमति रोक्का राख्नेलगायतका कारबाहीसमेत गरिने सूचनामा उल्लेख छ।
