
काठमाडौँ । भारतको असम राज्यस्थित गुवाहाटीमा होटलको स्वामित्व र सञ्चालनसम्बन्धी विवादका क्रममा गोली चल्दा एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार होटलका मालिक र लिजमा होटल सञ्चालन गर्दै आएका व्यक्तिबीच भएको विवादले उग्र रूप लिँदा गोली चलेको हो ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित बोरा सर्भिस नजिकै रहेको होटल बिलास इनमा उक्त घटना भएको हो ।
असम प्रहरीले घटनामा ६ जनालाई गोली लागेको जनाएको छ । गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार गोली लागेका छ जनामध्ये पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । प्रहरीका अनुसार गोली प्रहार गर्न ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरिएको थियो । प्रहरीले घटनामा प्रयोग भएको हतियारसमेत बरामद गरेको जनाएको छ ।
घटनास्थलमा रहेको होटल असम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटरको दूरीमा पर्छ । होटलको स्वामित्व तथा लिजमा सञ्चालन गर्ने विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रूप लिएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
घटनाको कारण, संलग्न व्यक्तिहरूको भूमिका तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।