न्यूनचापीय प्रणाली र वायुमण्डलीय रेखाको प्रभावले शुक्रबार भारी वर्षाको सम्भावना

दियोपोस्ट संवाददाता

काठमाडौँ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली र माथिल्लो वायुमण्डलमा उत्तरपश्चिमबाट प्रवेश गर्ने न्यूनचापीय रेखाको संयुक्त प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने सम्भावना देखिएको छ । शुक्रबार (कार्तिक १३) वर्षा सबैभन्दा बढी हुने अनुमान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार बंगालको खाडीमा विकसित चक्रवात बुधबार (कार्तिक ११ ) आसपास स्थलभागमा प्रवेश गर्ने र त्यसको अवशेष न्यूनचापीय प्रणाली उत्तरतर्फ मोडिँदै कार्तिक १३ अर्थात् शुक्रबार नेपालको तराई क्षेत्रमा आइपुग्ने सम्भावना छ ।

यस प्रणालीको प्रभाव बिहीबार (कार्तिक १२) देखि नै देशका विभिन्न भागमा देखिन थाल्नेछ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र माथिल्लो वायुमण्डलमा उत्तरपश्चिमबाट प्रवेश गर्ने न्यूनचापीय रेखाबीचको अन्तरक्रियाले वर्षालाई थप तीव्र बनाउने मौसमविद् पोखरेलको भनाइ छ ।

उनका अनुसार न्यूनचापीय प्रणाली नेपाल नजिक आइपुग्ने समयमा माथिल्लो वायुमण्डलमा हावा बाहिरिने अवस्था सिर्जना हुनेछ । यसले तल्लो वायुमण्डलबाट माथितर्फ हावा उक्लिने प्रक्रियालाई बलियो बनाउँछ । त्यसमाथि हिमालयको भौगोलिक बनावटका कारण आर्द्र हावा माथितर्फ धकेलिँदा बादल बन्ने र वर्षा हुने प्रक्रिया थप सक्रिय हुनेछ ।

यी सबै अवस्थाको संयुक्त प्रभावले तराई र मध्यपहाडी क्षेत्रमा भारी वर्षा हुन सक्नेछ भने उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहनेछ ।

पोखरेलका अनुसार शुक्रबार देशभर औसतमा करिब ७० मिलिमिटर वर्षा हुन सक्ने अनुमान छ । मध्यपहाडी क्षेत्रमा भने ११० देखि १४५ मिलिमिटरसम्म वर्षा हुन सक्ने सम्भावना छ । यस अवधिमा विशेषगरी मध्यपहाडी क्षेत्रमा वर्षाको जोखिम बढी रहने देखिन्छ ।

शनिबारदेखि माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखा पूर्वतर्फ सर्ने र बंगालको खाडीबाट आएको न्यूनचापीय प्रणाली त्यसैमा समाहित हुने अनुमान गरिएको छ । त्यसपछि वर्षा क्रमशः कमजोर हुँदै जाने र आइतबारसम्म मौसममा सुधार आउने सम्भावना छ ।

यद्यपि, वर्षाको वास्तविक मात्रा र प्रभाव प्रणालीको गति तथा दिशा र वायुमण्डलीय अवस्थाको परिवर्तनमा निर्भर रहने भएकाले पछिल्लो मौसम पूर्वानुमानमा ध्यान दिन आवश्यक छ ।

सम्बन्धित खबर

सिफारिस