
काठमाडौँ । राष्ट्रिय जेन्जी नागरिक अभियानले बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध विरोधसभा गर्ने भएको छ । अभियानको केन्द्रीय समितिद्वारा जारी विज्ञप्तिअनुसार सोमबार बिहान ११ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोधसभा गर्न लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा २०८३ असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान)लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नागरिकता किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय सार्वजनिक भएपछि गम्भीर ध्यानाकर्षण भएको अभियानले जनाएको छ ।
अभियानले नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न तथा नियुक्तिको कानुनी आधार र औचित्य सार्वजनिक गर्न माग गरेको छ ।
विरोधसभामा सहभागी हुन अभियानले जेन्जी युवा, बौद्ध धर्मावलम्बी, नागरिक समाज तथा सरोकारवालालाई आह्वान गरेको छ । साथै, कार्यक्रमको समाचार संकलन तथा प्रसारणका लागि पत्रकारहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।