आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज (सोमबार) देखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । सोमबार बेलुकी ५ बजे सुरु हुने खेलसँगै प्रतियोगिताको औपचारिक सुरुवात हुनेछ ।

क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार मंगलबारदेखि दैनिक दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल बेलुकी ५ बजे सुरु हुनेछ ।

प्रतियोगिताका सबै ३२ खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछन् । प्रतियोगितामा साविक विजेता लुम्बिनी लायन्ससहित सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएलको यस संस्करणमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेसँगै अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरूको पनि सहभागिता रहनेछ । प्रतियोगितामा डेभिड वार्नर, शकिब अल हसन, आन्द्रे रसेल र सिकन्दर राजाजस्ता विदेशी खेलाडीले पनि खेल्नेछन् ।

नेपाली क्रिकेटको लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता एनपीएलले घरेलु खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीसँगै खेल्ने अवसर प्रदान गर्नुका साथै नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस