आगामी बिहीबार देखि आइतबार सम्म २८ जिल्लामा वर्षाको उच्च जोखिम

दियोपोस्ट संवाददाता

काठमाडौँ । बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने सम्भावना देखिएको छ । उक्त प्रणालीको प्रभावले नेपालका धेरै स्थानमा वर्षा हुनुका साथै केही ठाउँमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार अहिलेसम्मको पूर्वानुमान हेर्दा शुक्रबार र शनिबार वर्षासम्बन्धी जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ।

कात्तिक १२ देखि १५ गतेसम्मको पूर्वानुमानअनुसार देशका विभिन्न स्थानमा वर्षा हुने र केही ठाउँमा भारी वर्षाका कारण जोखिम बढ्न सक्ने देखिएको छ।

काठमाडौँसहित लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका २८ जिल्लामा वर्षासम्बन्धी जोखिमको संकेत देखिएको डा. पोखरेलले बताएका छन् । मनाङ जिल्लामा पनि यसपटक विशेष ध्यान दिनुपर्ने देखिएको छ।

यद्यपि, मौसमको पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले वर्षा हुने स्थान, समय र मात्रामा फेरबदल हुन सक्छ । त्यसैले आफ्नो जिल्लाको मौसमको अवस्था बुझ्न नियमित रूपमा अद्यावधिक पूर्वानुमान हेर्न र आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरिएको छ।