किशोर श्रेष्ठको पक्राउप्रति पत्रकार महासंघको आपत्ति, बिनासर्त रिहाइको माग

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै उनलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरिएको हो ।

विज्ञप्तीमा सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा श्रेष्ठ पक्राउ परेको घटनाले प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको उल्लेख छ ।

पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएको थियो । सोही विषयमा परेको उजुरीका आधारमा एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोलीले श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको महासंघले जनाएको छ ।

समाचारप्रति चित्त नबुझेमा प्रचलित र स्थापित विधिअनुसार समाधान खोज्नुपर्नेमा साइबर ब्युरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानविपरीत भएको महासंघको ठहर छ । यस्तो घटनाले लोकतान्त्रिक मूल्य-मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताको उपहास गरेको महासंघले जनाएको छ ।

प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा गरिएको स्वेच्छाचारी व्यवहारप्रति खेद व्यक्त गर्दै महासंघले घटनाको कडा भर्त्सना गरेको छ ।

महासंघले प्रेसविरोधी व्यवहार सच्याउन सरकारको ध्यानाकर्षण गराउँदै पत्रकार श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । साथै, समाचारको विषयमा विवाद भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्बद्ध पक्षलाई सचेत गराएको छ ।

महासंघले आफ्नो क्षेत्राधिकार प्रभावकारी रूपमा निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई समेत आग्रह गरेको छ । विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारितासँग सम्बन्धित विवाद स्थापित प्रक्रियाबाट समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।