जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर

दियोपोस्ट संवाददाता

काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका-८ मालुस्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार असोज ३१ गते बिहान रुकुम पश्चिमको आठबिसकोट-११ राडिबाट नलगाड-१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१-००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६० देखि ६५ मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका नलगाड-९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।

दुर्घटनामा नलगाड-२ का ३५ वर्षीय प्रेम परियार, नलगाड-३ का २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट-११ का २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।