हिमेश पन्तको उजुरीपछि पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरो पुगेका छन् । कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिमेश पन्तले दिएको उजुरीका आधारमा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले साइबर ब्युरोमा बोलाएको हो ।

श्रेष्ठलाई पक्राउ गरेर ब्युरो लगिएको पारिवारिक स्रोतले दाबी गरे पनि प्रहरीले भने छलफल तथा सोधपुछका लागि बोलाइएको जनाएको छ ।

साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीका अनुसार श्रेष्ठलाई पक्राउ गरिएको नभई छलफलका लागि बोलाइएको हो । ब्युरोमा उजुरीकर्ता पन्त र आरोपित श्रेष्ठलाई सँगै राखेर छलफल भइरहेको उनले जानकारी दिए ।

यद्यपि, श्रेष्ठले आफूलाई साइबर ब्युरो लैजान लागिएको भन्दै टेलिफोनमार्फत जानकारी गराएको पारिवारिक स्रोतले जनाएको छ ।

रास्वपा नेता पन्तले पत्रकार श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए । पन्तको परिवारले जग्गा कब्जा गरेको सम्बन्धमा प्रकाशित समाचारपछि उनीविरुद्ध जाहेरी परेको बताइएको छ ।

तर, श्रेष्ठलाई साइबर ब्युरोमा बोलाइएको विषय यही जाहेरीसँग सम्बन्धित हो वा अन्य कुनै उजुरीसँग, त्यसबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन ।