
काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी दशैँलाई लक्षित गर्दै तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ । नेपाली बजारमा उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन नेपाल पक्षले गरेको विशेष आग्रहपछि चिनियाँ पक्ष नाका खोल्न सहमत भएको हो ।
मन्त्री दीपककुमार साहको सक्रिय पहल र संवादपछि चिनियाँ पक्षले नाका खोल्ने सहमति जनाएको बताइएको छ । नाका अक्टोबर १८ देखि २० (असोज २ देखि ४ गतेसम्म) सञ्चालन हुनेछ ।
नाका सञ्चालनमा आउने तीन दिनको अवधिमा चिनियाँ भूमिमा रोकिएका तथा भन्सार प्रक्रिया पूरा भएका कार्गो ट्रक र मालवाहक सवारीसाधनलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ ।
दशैँ नजिकिँदै गर्दा चिनियाँ सामान बोकेका कन्टेनर नाकामै रोकिँदा व्यवसायीहरू समस्यामा परेका थिए । सामानको आपूर्ति प्रभावित हुँदा नेपाली बजारमा उपभोग्य वस्तुको अभाव हुनसक्ने र मूल्यवृद्धिको जोखिम बढ्ने देखिएपछि नाका खुलाउन पहल गरिएको हो ।
चाडपर्वका बेला बजारमा उपभोग्य वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न सरकारले कूटनीतिक तथा व्यापारिक तहमा पहल अघि बढाएको थियो । सोही पहलपछि नाका तीन दिनका लागि सञ्चालनमा ल्याउने सहमति जुटेको हो ।
नाका खुल्ने भएपछि दशैँलाई लक्षित गरी आयात गरिएका कपडा, फलफूललगायतका उपभोग्य सामग्री नेपाली बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ । यसबाट सामान ढुवानीमा समस्या झेलिरहेका व्यवसायीलाई राहत पुग्नुका साथै बजारमा वस्तुको आपूर्ति सहज हुने विश्वास लिइएको छ ।
तातोपानी नाका सञ्चालनमा ल्याउने सहमतिलाई नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहकार्यको सकारात्मक परिणामका रूपमा हेरिएको छ।