२२ वर्षअघिको गाउँ र अहिलेको गाउँ उस्तै : पुस्ता फेरियो, विकास फेरिएन

रीता बुढाथोकी

रुपन्देही । बर्खा लागेसँगै रुपन्देही सैनामैना नगरपालिका-९, भरैयाका खुमबहादुर सामथको मनमा एउटै चिन्ता थपिन्छ -विद्यालय गएका बालबच्चा साँझ घर फर्केर आउने हुन् कि होइनन् ? काममा निस्किएका परिवारका सदस्यलाई कतै बाढीले बगायो कि ! कतै वर्षौँदेखि जोगाएर राखेको थोरै जमिन पनि खोलामा मिसिने हो कि ?

इङ्गुरिया र सुखौरा खोलाको बिचमा रहेको भरैया टोलका बासिन्दाका लागि वर्षा याम सधैँ त्रासपूर्ण हुने गर्छ । आकाशमा बादल मडारिन थालेपछि उनीहरूको मनमा बाढीको त्रास मडारिन्छ । पानी पर्न थालेपछि खोलाको सतह बढ्छ, बाटो अवरुद्ध हुन्छ र दैनिक जीवन नै ठप्प हुने गर्छ ।

खोलामाथि पुल छैन, सुरक्षित सडक छैन; बाढी नियन्त्रणको भरपर्दो व्यवस्था छैन । नगरपालिकाको कार्यालय नजिकै रहेका यी दुई बस्तीका बासिन्दा भने वर्षौँदेखि आधारभूत पूर्वाधारको प्रतीक्षामा छन् । स्थानीय सरकारको उपस्थिति महसुस गर्न नसकेका उनीहरूका लागि विकासका आश्वासनभन्दा खोलाको भेल बढी शक्तिशाली बनेको छ ।

खोलाले बगाएको खेत, बगर बनेको जीवनः

सुखौराका टंकबहादुर थापाको चार कट्ठा खेत दुई वर्ष अघि बाढीले बगायो । बाढीले खेत मात्रै बगाएन उनको खुसी पनि बगायो । मुरी फल्ने खेल बगेपछि उनीमाथि आर्थिक भार थपियो । उनको खेत भएको ठाउँमा अहिले खोला बग्छ । खोला बग्ने पुरानो ठाउँ बगरमा परिणत भएको छ ।

थापाका लागि त्यो चार कट्ठा जमिन केवल माटोको टुक्रा थिएन, परिवारको गुजारा चलाउने आधार थियो । तर एकै पटक आएको बाढीले उनको श्रम, लगानी र भविष्यको एउटा हिस्सा बगाएर लग्यो । अहिले खेत भएको ठाउँमा बगिरहेको खोला हेर्नुबाहेक उनीसँग अर्को विकल्प छैन ।

यो पीडा टंकबहादुरको मात्र होइन । सुखौरा र भरैयाका करिब डेढ सय भन्दा बढी परिवारले आफ्नो खेतीयोग्य जमिन खोलाको कटानमा गुमाइसकेका छन् । कुनै समय डेढ बिघासम्म जमिन भएका परिवारसँग अहिले केही कट्ठा मात्र बाँकी छ । कतिपयको जमिन त पूर्ण रूपमा खोलामा विलीन भइसकेको छ ।

सुखौराका छविलाल बोहोराको जीवनमा बाढीले दिएका अनेकन् चोट छन् । बर्सेनि आउने बाढीले छविलालको खेत मात्रै बगेन, खोलाले उनको आमाको ज्यानसमेत लियो, जति बेला उनी १३ वर्षका थिए ।

‘रोपाइँको समय थियो । खेतमा काम गर्न आमा घरबाट निस्किनु भएको थियो । खेत पुग्न खोला तर्नुपथ्र्यो । खोला तर्ने क्रममा आमालाई बाढीले बगायो । दिनभरि खोजी गर्दा पनि आमाको अवस्था पत्ता लागेन,’ साँझ अबेर मात्रै आमाको शव भेटिएको उनी सम्झिन्छन् ।

त्यो दिनको पीडा बोहोराको स्मृतिमा आज पनि ताजै छ । घटना भएको लामो समय बितिसकेको छ । तर खोला र बाढीको जोखिम भने अहिले पनि उस्तै छ ।

‘कम्तीमा एउटा झोलुङ्गे पुल भएको भए मेरी आमाले अकालमा ज्यान गुमाउनुपर्ने थिएन,’ उनी भावुक हुँदै भन्छन् ।

आमाको मृत्युले दिएको चोटसँगै बोहोराको परिवारले वर्षौँसम्म जमिन गुमाउने पीडा पनि भोगिरहेको छ । पहिले डेढ बिघा जमिन थियो, तर अहिले तीन कट्ठा मात्र बाँकी छ ।

खोला नजिक पुग्दा उनलाई आमाको सम्झना ताजा बनेर आउँछ । त्यो सम्झना केवल आमा गुमाएको पीडा मात्र होइन, समयमै पुल नबन्दाको परिणाम पनि हो ।

‘लामो समय बितिसक्यो, अहिलेसम्म पुलबाट यात्रा गर्ने हाम्रो सपना पूरा हुन सकेन,’ उनी भन्छन्, ‘आवाज उठाउँदा उठाउँदै चालीस वर्ष बितिसक्यो । अहिलेसम्म हाम्रो आवाज राज्यले सुनेको छैन ।’

त्यसो त, गाउँ छोडेर अन्यत्र जान उनी चाहन्नन् । पुर्खाले बसाएको ठाउँ, आफू हुर्किएको माटो र जीवनभरको सम्झनासँग जोडिएको बस्ती छोड्न उनलाई मन छैन । तर बसिरहन पनि सहज छैन । जाने ठाउँ छैन, बस्ने ठाउँ जोखिममुक्त छैन ।

‘अब कहिलेसम्म यस्तै समस्या भोगिरहने ?’ भन्ने प्रश्नको उत्तर उनीसँग छैन । राज्यले ध्यान दिए कुनै दिन गाउँको विकास हुने आशा पनि अझै जीवित नै छ ।

आफ्नो आँखैअगाडि बस्तीको स्वरूप बदलिएको उनी बताउँछन् । उनी यहाँ आउँदा स्थानीयका खेतबारी फराकिला थिए । तर वर्षौँदेखि भइरहेको कटानले जमिनको क्षेत्रफल खुम्चिँदै गएको छ । उनका अनुसार पहिले डेढ बिघासम्म जमिन भएका परिवारको भागमा अहिले तीन-चार कट्ठा मात्र बाँकी रहेको अवस्था छ ।

‘पहिले यहाँका सबैको डेढ-डेढ बिघा खेत थियो । अहिले खोलाले कटान गरेर सबै लगिसक्यो,’ उनी भन्छन् ।

खोलाले जमिन मात्र बगाएको छैन, स्थानीयको आर्थिक आधारसमेत कमजोर बनाएको छ । खेतीयोग्य जमिन घटेपछि जीविकोपार्जनको बाटो साँघुरिएको छ । बाँकी रहेको जमिन पनि सुरक्षित छैन । बर्खामा खोला बढ्दा आफ्नै थातथलो गुम्ने हो कि भन्ने त्रासमा बाँच्नु परेको उनको भनाई छ ।

त्यति मात्र होइन, पहिले एक बिघा जमिन भएको उनको परिवारसँग अहिले १० कट्ठा मात्र बाँकी छ । बाँकी रहेको जमिनसमेत खोलाले कटान गर्ने हो कि भन्ने चिन्ताले उनलाई सताइरहन्छ ।

‘विकास नभए पनि आफ्नो गाउँको माया लाग्ने रहेछ । यहीँ हुर्कियौँ, यहीँ जीवन बितायौँ । त्यसैले गाउँ छाडेर अन्त जान मन लाग्दैन । बोहोरा भन्छन्, ‘वर्षौँदेखि उस्तै समस्या भोगिरहँदा आशा भने मर्दो रहेछ ।’

अँध्यारो भए पनि उज्यालोको प्रतीक्षा गरेर बस्नु परेका उनी बताउँछन् । यो भनाइ उनको मात्रै होइन, भरैया र सुखौरा वासीको साझा भोगाई हो यो ।

कम्मरसम्मको खोला तरेर विद्यालय जान्छन् बालबालिकाः

खोलाको जोखिमले बालबालिकाको भविष्यसमेत प्रभावित भइरहेको छ । भरैया र सुखौराका बालबालिकाले विद्यालय पुग्न खोला तर्नुपर्ने बाध्यता छ । पुल नहुँदा उनीहरूका लागि विद्यालय जाने बाटो सहज र सुरक्षित छैन ।

स्थानीय खुमबहादुर सामथका अनुसार उनको टोलबाट मात्रै करिब एक दर्जन बालबालिका आधा घण्टा हिँडेर विद्यालय पुग्नु पर्ने बाध्यता छ । खोलामा पानी बढेका बेला उनीहरू विद्यालय जाँदैनन्, उनीहरूको पढाइ छुट्छ । अभिभावक कामका लागि बाहिर जानुपर्ने भएकाले सधैँ बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन पनि सम्भव हुँदैन ।

‘बर्खामा माथिबाट भेल आउँछ । त्यस बेला हाम्रा बालबच्चा विद्यालय जान पाउँदैनन्,’ उनी भन्छन् ।

भरैया ६ की सुस्मा सामथले पनि विगत २२ वर्षयता यही पीडा भोगिरहेकी छन् । विवाह गरेर यो गाउँमा आएको २२ वर्ष बितिसक्यो । तर बस्तीको अवस्थामा खासै परिवर्तन देखेकी छैनन् । पानी बढेका बेला बालबच्चा घरबाट बाहिर निस्कन सक्दैनन् । विद्यालयबाट फर्किँदा खोला बढ्यो भने समयमा घर पुग्न समेत कठिन हुने उनी बताउँछिन् ।

‘बिहान स्कुल गएका केटाकेटी साँझ घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने डरमा बाँच्नु परेको छ,’ उनी भन्छिन् ।

पुल नहुँदा बालबालिकाको पढाई प्रभावित बनेको उनी बताउँछिन् । उनका अनुसार गाउँमै खोलाले बगाएर दुई जनाको ज्यान गइसकेको छ । त्यसैले खोलामा पानी बढ्दा बालबालिकाको सुरक्षालाई लिएर अभिभावकको चिन्ता बढ्ने गरेको उनको भनाई छ ।

२२ वर्षअघि सुस्माले देखेको गाउँ र अहिलेको गाउँ उस्तै हुनु विकासको अभावको एउटा चित्र हो । पुस्ता फेरिएको छ, बालबालिका हुर्किएका छन्, तर आफ्ना दाइ दिदीले भोगेको नियति उनीहरूले पनि भोगिरहेका छन् ।

बिरामी पर्दा अस्पताल पुग्ने बाटोसमेत छैनः

खोलाको जोखिमसँगै बस्तीका बासिन्दाले सडकको समस्या पनि झेलिरहेका छन् । बाटो साँघुरो र अप्ठ्यारो भएकाले अटोरिक्सा तथा अन्य सवारीसाधन गाउँसम्म आउन मान्दैनन् । यस्तो अवस्थामा कोही बिरामी परे अस्पताल पु¥याउनसमेत कठिन हुने गरेको खुमबहादुर बताउँछन् ।

‘रातबिरात कोही बिरामी भए अस्पतालसम्म लैजान मुस्किल हुन्छ,’ उनी भन्छन् ।

सामान्य अवस्थामा समेत असहज हुने बाटो वर्षा याममा झन् जोखिमपूर्ण हुन्छ । खोलामा पानी बढेपछि बाहिर जान र बाहिरबाट घर फर्किन खोलाको पानी घट्ने प्रतीक्षा गर्नुपर्ने उनी बताउँछन् ।

यसरी एउटा पुल र सुरक्षित सडकको अभावले शिक्षा, स्वास्थ्य, रोजगारी र दैनिक आवागमनमा समस्या सिर्जना गरेको स्थानीय बताउँछन् ।

बाँकी जमिन जोगाउन पनि मुस्किल, खेती गर्न सिँचाइ छैनः

भरैया र सुखौराका बासिन्दाको अर्को समस्या खेतीपातीसँग जोडिएको छ । खोलाको कटानबाट केही जमिन जोगिए पनि त्यसमा खेती गर्न पर्याप्त सिँचाइको व्यवस्था छैन । अर्कोतर्फ, जंगलबाट आउने भेलले खेतबारीमा क्षति पुर्‍याउँछ ।
सैनामैना–९ भरैयाका २२ वर्षीय अनिल परियारका अनुसार खोलाको पानी बगेर खेर गइरहेको छ । त्यसलाई सिँचाइमा उपयोग गर्न सकिने व्यवस्था भए किसानलाई राहत मिल्ने थियो । तर सिँचाइको अभावका कारण हिउँदे बाली लगाउने समयमा समेत समस्या भइरहेको छ ।

‘दाल, गहुँ र तरकारी लगाउने बेला भइसक्यो । तर सिँचाइको समस्याले बाली लगाउन पाएका छैनौँ,’ उनी भन्छन् ।

खेतीबाट जीविकोपार्जन गर्ने परिवारका लागि यो दोहोरो मार हो । एकातिर बाढीले जमिन कटान गर्छ, अर्कोतिर बाँकी जमिनमा खेती गर्न सिँचाइको व्यवस्था छैन ।

जंगलको छेउमा बस्ती भएकाले जंगली जनावरले पनि खेतीमा क्षति पुर्‍याउँछन् । बाली जोगाउन किसान रातभरि आगो बालेर जाग्राम बस्न बाध्य छन् । खेतमा बाली लगाएदेखि घर भित्र्याउने बेलासम्म उनीहरूको चिन्ता सकिँदैन ।
माथिल्लो क्षेत्रमा, विशेष गरी पाल्पातिर वर्षा हुँदा त्यहाँको भेल खोलामार्फत सिधै बस्तीमा आइपुग्छ । जंगलबाट बग्ने पानीले खेतबारी र बस्तीमा क्षति पुर्‍याउँछ । खोलाको कटान रोक्न कहिलेकाहीँ तार जाली लगाइए पनि बाढीले ती संरचना च्यातेर बगाउने गर्छ ।

स्थानीयका अनुसार थोरै तार जाली लगाएर मात्र यो समस्या समाधान हुँदैन । बर्सेनि क्षति बेहोर्नुभन्दा दीर्घकालीन तटबन्ध र बाढी नियन्त्रणको व्यवस्था आवश्यक छ ।

पुलबाट यात्रा गर्ने सपना अधुरैः

स्थानीयका समस्या वर्षौँदेखि दोहोरिइरहे पनि समाधानको बाटो अझै खोजिएको छैन । बस्तीका बासिन्दाले पुल र तटबन्ध निर्माणको माग गर्दै आएको वर्षौँ बितिसक्यो । तर, अहिलेसम्म कुनै पहल भएको छैन ।

यद्यपि, नगरपालिकाले गत वर्ष झोलुङ्गे पुल निर्माणका लागि बजेट छुट्टाइएको थियो । नगरपालिकाबाट नाप जाँचसमेत गरिएको थियो । तर त्यसपछि काम अघि बढेको छैन ।

स्थानीयका अनुसार नगरपालिकाका प्रतिनिधि गत माघमा पुल निर्माणका लागि नापजाँच गर्न आएका थिए । आफ्नै घरअगाडि पुल बन्ने आशाले स्थानीय उत्साहित भएका थिए । तर नापजाँचपछि सम्बन्धित पक्ष फर्केर नआएपछि उनीहरूको आशा मरेको छ ।

सुखौराका चन्द्रबहादुर नेपालीका अनुसार पुल निर्माण र तटबन्ध निर्माणका लागि एक वर्षअघि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । नगरपालिकाबाट मान्छे आएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको उनले बताए । बहु वर्षीय योजनाअन्तर्गत पुल निर्माण गर्ने भनिए पनि काम सुरु नभएकाले आफू विश्वस्त हुन नसकेको उनको भनाई छ ।

उनका अनुसार पुल बनेमा सैनामैना-६ का करिब ६० घरधुरी र वडा नम्बर ९ का करिब ३५ घरधुरी लाभान्वित हुनेछन् । त्यसैले यो पुल केवल आवागमन सहज बनाउने संरचना मात्र होइन, दुई बस्तीका मानिसलाई सुरक्षित जीवनसँग जोड्ने माध्यम पनि हो ।

तर विकासका कुरा चुनावका बेलामा मात्रै बढी सुनिने उनको अनुभव छ । चुनाव सकिएपछि जनप्रतिनिधि गाउँ फर्केर नआउने र आफ्ना समस्या सुनुवाइ नहुने उनको गुनासो छ ।

‘चुनावमा भोट माग्न आउँछन् । हाम्रो कुरा एक कानले सुन्छन्, अर्को कानले उडाइदिन्छन्,’ चन्द्रबहादुरले दुखेसो पोखे ।

बाटो बनाउन बजेट छुट्टाइने भनिए पनि आफ्नो टोलसम्म विकास नआइपुगेको उनको भनाई छ ।

राज्यको नजरभन्दा पर, बत्तीमुनिको अँध्यारो बस्तीः

सैनामैना नगरपालिकाको कार्यालयबाट नजिकै रहेको यो बस्तीका बासिन्दाले वर्षौँदेखि विकासको प्रतीक्षा गरिरहेका छन् । तर बस्तीमा पुल, सुरक्षित बाटो, भरपर्दो तटबन्ध र सिँचाइजस्ता आधारभूत पूर्वाधारको अभाव कायमै छ ।
स्थानीय सरकारले विकासका आश्वासन दिने गरे पनि त्यसअनुसार काम नभएको स्थानीयको गुनासो छ ।

विकासको अभावले कतिपय परिवारले गाउँ छाडिसकेका छन् । तर पुख्र्यौली थातथलो, आफ्नो जमिन र जीवनका सम्झनासँग जोडिएको गाउँ छाड्न नसक्नेहरू अझै त्यहीँ बसिरहेका छन् । उनीहरूका लागि गाउँ छाड्नु सजिलो विकल्प होइन । बसिरहनु पनि सुरक्षित छैन ।

नगरपालिकाले सुखौरा खोलामा पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको, शान्तिनगर र शङ्करपुर जोड्ने झोलुङ्गे पुलको काम अघि बढाइएको तथा तटीय क्षेत्रमा कटान रोक्ने प्रयासलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

यी योजनाले गति लिएमा स्थानीयका वर्षौँदेखिका समस्या समाधान हुने अपेक्षा गर्न सकिन्छ । तर स्थानीयका लागि योजनाको घोषणा मात्र पर्याप्त छैन; उनीहरू प्रत्यक्ष रूपमा काम सुरु भएको र त्यसको परिणाम देख्न चाहन्छन् ।

तर, बाढीले खेत बगाउँदा किसानले आफ्नो भविष्य गुमाएका छन् । पुल नहुँदा बालबालिकाले पढाइ गुमाएका छन् । सुरक्षित बाटो नहुँदा बिरामीले समयमै उपचार पाउने अवसर गुमाएका छन् । अनि वर्षौँसम्म आवाज उठाउँदा पनि सुनुवाइ नहुँदा नागरिकले राज्यप्रतिको भरोसा गुमाउँदै गएका छन् ।

यी बस्तीका बासिन्दा जवाफभन्दा पहिले काम चाहन्छन् । उनीहरूलाई दया होइन, सुरक्षित जीवनको अधिकार चाहिएको छ । उनीहरूलाई ठुला विकासका भाषणभन्दा सुरक्षित पुल चाहिएको छ । चुनावी आश्वासनभन्दा बाढीबाट जोगाउने स्थायी तटबन्ध चाहिएको छ । कागजमा सीमित योजनाभन्दा विद्यालय, अस्पताल र बजारसम्म पुग्न सकिने सहज बाटो चाहिएको छ ।