काठमाडौँमा आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ। ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न महानगरपालिकाले बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।

शुक्रबार महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले यसबारे जानकारी दिएकी हुन् । उनका अनुसार अब १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत पठाइनेछ।

डंगोलले काठमाडौँमा एम्बुलेन्सको संख्या पर्याप्त भए पनि ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण समयमै सेवा उपलब्ध गराउन चुनौती रहेको बताइन् । विशेषगरी चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने चोक तथा साँघुरा गल्लीमा बिरामीलाई तत्काल प्राथमिक उपचार सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स परिचालन गरिने उनले बताइन्।

उनका अनुसार बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिनेछ । यसबाट बिरामीसम्म छिटो पुगेर आवश्यक प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराउन तथा थप उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लैजाने प्रक्रियालाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।