
काठमाडौँ । राजमार्ग तथा राजमार्ग आसपासका क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट तथा खाजा घरले ग्राहकले सहजै देख्न सक्ने स्थानमा मूल्यसूची राख्नुपर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना, खाजा, पेय पदार्थ तथा अन्य वस्तु र सेवाको मूल्यसूची स्पष्ट रूपमा राख्न व्यवसायीलाई निर्देशन दिएको हो।
मन्त्रालयले राजमार्गका होटल तथा रेस्टुरेन्टबाट बिक्री–वितरण हुने खाना, खाजा तथा पेय पदार्थको गुणस्तर र मूल्यसम्बन्धी उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै उपभोक्ता हित संरक्षणका लागि यस्तो व्यवस्था पालना गर्न निर्देशन गरेको छ ।
मन्त्रालयले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै व्यवसायीलाई प्रचलित कानुनको पूर्ण पालना गर्न सूचित गरेको छ।
निर्देशनअनुसार होटल तथा रेस्टुरेन्टले बिक्री गरेका खाद्यवस्तु र प्रदान गरेका सेवाको वास्तविक कारोबार मूल्य खुल्ने गरी प्रत्येक ग्राहकलाई अनिवार्य रूपमा बिल वा बिजक उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, खाद्यवस्तुको तयारी, भण्डारण, पकाउने, बिक्री-वितरण तथा सेवा प्रवाहका क्रममा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ। भान्छा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी तथा शौचालयलगायतका स्थानमा आवश्यक सरसफाइ कायम गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने अस्वच्छ, दूषित, म्याद गुज्रिएका वा खान अयोग्य खाद्यवस्तु बिक्री-वितरण गर्न पाइने छैन । व्यवसायीले प्रचलित कानुनबमोजिमको मूल्य कायम गरी ग्राहकलाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेछ।
मन्त्रालयले अनुगमनका क्रममा प्रचलित कानुन, खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड र उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्थाको उल्लङ्घन गरेको पाइएमा सम्बन्धित व्यवसायीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।
