
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै वालेटमा रकम लोड गर्ने सीमा बढाएको छ । नयाँ व्यवस्थाअनुसार तोकिएको अवधिमा प्राकृतिक व्यक्तिले एक दिनमा ५० पटकसम्म वालेटमा रकम लोड गर्न सक्ने भएका छन् ।
यसअघि वालेटमा रकम लोड गर्न दैनिक १० पटकसम्मको सीमा तोकिएको थियो । राष्ट्र बैंकले चाडपर्वका बेला डिजिटल भुक्तानीको बढ्दो चाप व्यवस्थापन गर्न तथा प्रयोगकर्तालाई सहज सुविधा उपलब्ध गराउन यस्तो व्यवस्था गरेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार यो विशेष सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुनेछ।
चाडपर्वका समयमा किनमेल, दक्षिणा, सेवा भुक्तानीलगायतका कारोबार बढ्ने भएकाले वालेटमा रकम लोड गर्ने सीमा बढाइएको हो । यसबाट डिजिटल भुक्तानीलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
केन्द्रीय बैंकले पछिल्लो समय नगद कारोबार घटाउँदै डिजिटल भुक्तानीका माध्यमको प्रयोग विस्तारलाई प्राथमिकता दिँदै आएको छ । दसैँ, तिहार र छठका अवसरमा दक्षिणा तथा अन्य भुक्तानीसमेत डिजिटल माध्यमबाट गर्न राष्ट्र बैंकले आग्रह गर्दै आएको छ।
