सिन्धुलीको खुर्कोटमा बस दुर्घटना हुँदा ९ जना घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । सिन्धुलीको खुर्कोटमा यात्रुवाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । शुक्रबार गोलञ्जोर गाउँपालिका-७ मा काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

बा.प्र.०३-००१ ख २७७४ नम्बरको उक्त बस होटलमा खाना खान रोकिएको थियो । खाना खाइसकेपछि यात्रु चढाएर बस ब्याक गर्ने क्रममा सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका नौ जनाको खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट तत्कालै प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।