बडादसैँको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । बडादसैँको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

धार्मिक मान्यताअनुसार कत गोत्रमा उत्पन्न कात्यायन ऋषिको घरमा जन्मिएकी हुनाले उनको नाम कात्यायनी रहन गएको हो । कात्यायन ऋषिले तपस्या गरेर पुत्रीका रूपमा प्राप्त गरेकी कात्यायनीमा ब्रह्मा, विष्णु र महेशका अंश रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

कात्यायनी देवीलाई शक्ति, साहस र अन्यायविरुद्ध लड्ने क्षमताको प्रतीकका रूपमा लिइन्छ । उनको स्वरूपले कठिन निर्णय लिन सक्ने क्षमता, असहाय र दुर्बल व्यक्तिको संरक्षण तथा सत्यनिष्ठ भएर कर्तव्य निर्वाह गर्नुपर्ने सन्देश दिने धार्मिक विश्वास छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा विशेष पूजाआराधना गरिन्छ । नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ । नवरात्रमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीका विभिन्न नौ स्वरूपको पूजा आराधना गर्छन् । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ । यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ ।

दुर्गा पक्षसमेत भनिने बडादसैँमा नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ । यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन् ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्छ ।